बुधबार, २९ साउन २०८३

वर्ल्डलिंकको मानवीय पहल:बाढीपीडितलाई १ करोड १ लाख

533 Shares

काठमाडौं: नेपालको ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले बाढी प्रभावितहरूको राहत तथा पुनर्स्थापनाका लागि १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो। वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव नेपालले मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरे।

विपद्का कारण नागरिक प्रभावित भएका बेला सरकारको उद्धार तथा राहत प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।

बाढी र पहिरोबाट वर्ल्डलिंकको आफ्नै पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ। कम्पनीका अनुसार प्रारम्भिक विवरणमा करिब ३ करोड ५० लाख रुपैयाँ बराबरको प्रत्यक्ष क्षति भएको छ।

आफ्नै संरचनामा ठूलो क्षति व्यहोरे पनि विपद्को समयमा व्यावसायिक हितभन्दा मानवीय जिम्मेवारीलाई प्राथमिकता दिँदै राहत कोषमा सहयोग गरिएको कम्पनीको भनाइ छ।

सहयोग हस्तान्तरणका क्रममा कम्पनीका अधिकारीहरूले नागरिक संकटमा परेका बेला आफू पनि प्रभावित हुँदाहुँदै उनीहरूको साथमा उभिनु संस्थाको जिम्मेवारी भएको बताएका थिए।

बाढीका कारण सडक, विद्युत् तथा सञ्चार पूर्वाधारमा अवरोध आएपछि वर्ल्डलिंकले आफ्ना प्राविधिक जनशक्तिलाई तत्काल परिचालन गरेको थियो। कम्पनीका अनुसार बाढी आएको तीन दिनभित्रै प्रभावित क्षेत्रका नेटवर्क पुनःस्थापना गरिएको थियो।

कम्पनीले राहतमा आर्थिक सहयोगसँगै प्रभावित क्षेत्रमा सञ्चार सेवा पुनः सञ्चालनलाई पनि प्राथमिकतामा राखेको जनाएको छ।