बुधबार, २९ साउन २०८३

बाढीपीडितका लागि मोबाइल फोन आयातकर्ताले दिए ३१ लाख

52 Shares

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत र उद्धारका लागि मोबाइल फोन आयातकर्ताहरूले ३१ लाख रुपैयाँ सहयोग गरेका छन्।

मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (MPIA) ले आफ्ना सदस्य संस्थाबाट संकलन गरेको ३१ लाख रुपैयाँ बुधबार नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो।

उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिएको संघले जनाएको छ। रकम बाढी तथा पहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा उपयोग हुने विश्वास संघले व्यक्त गरेको छ।

सहयोग रकम संघका अध्यक्ष दीपक कुमार मल्होत्रा, उपाध्यक्ष संजय अग्रवाल तथा सञ्चालक सदस्यहरूले अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन्।

रकम हस्तान्तरण गर्दै संघका अध्यक्ष मल्होत्राले विपद्को कठिन घडीमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए।

उनले राहतका लागि आर्थिक सहयोग जुटाउन साथ दिने सदस्य संस्थाहरूलाई धन्यवादसमेत व्यक्त गरे।

भोटेकोशीमा आएको बाढी तथा पहिरोबाट रसुवासहित आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि विभिन्न संघसंस्था तथा निजी क्षेत्रबाट राहत र पुनर्स्थापनाका लागि सहयोग जुटिरहेको छ।