वासिङ्टन। सामाजिक सञ्जाल कम्पनी टिकटकले शुक्रबार अमेरिकाको अलाबामा राज्यलाई कम्तीमा १० करोड डलर तिर्ने र किशोरकिशोरी प्रयोगकर्ताका लागि समय-सीमा तथा अन्य प्रतिबन्धहरू लागू गर्ने सहमति जनाएको छ। इन्स्टाग्रामकी मालिक कम्पनी मेटाले अमेरिकी राज्यहरूसँग हालै गरेको सम्झौतालाई नमुना बनाउँदै टिकटकले अदालती मुद्दाबाट उम्किएको हो।
अलाबामाले टिकटकले हानिकारक सामग्रीबाट बालबालिकालाई जोगाउने भनिएका उपकरणहरूबारे अभिभावकलाई झुक्याएको दाबीसहित सोमबारदेखि यस दक्षिणी अमेरिकी राज्यमा मुद्दाको सुनुवाइ हुने तय भएको थियो।
महान्यायाधिवक्ता स्टिभ मार्सलले यो सहमतिलाई "अलाबामाका अभिभावकका लागि उत्कृष्ट दिन" भन्दै स्वागत गरे। उनले भने, "आज राति उनीहरूले आफ्ना बालबालिकालाई सामाजिक सञ्जालको लतको खतराबाट जोगाउन वास्तविक सुरक्षा उपाय लागू भएको थाहा पाएर ढुक्कसँग सुत्न सक्नेछन्।"
सहमतिअनुसार टिकटकले अलाबामालाई १० करोड डलर पठाउनेछ भने अन्य राज्यले पनि यस्तै सहमति स्वीकार गरे कुल रकम ३० करोड डलरसम्म पुग्न सक्ने छ।
अलाबामाको मुद्दा युवा प्रयोगकर्तालाई सामाजिक सञ्जाल एपहरूले पुर्याएको भनिएको हानिबारे अमेरिकाभर सामाजिक सञ्जाल कम्पनीहरूविरुद्ध चलिरहेको मुद्दाहरूको शृंखलामध्ये पछिल्लो हो।
गत अगस्टमा मेटाले इन्स्टाग्राम र फेसबुकलाई बालबालिका लत लाग्ने गरी डिजाइन गरेको आरोपमा अमेरिकी राज्यहरूले ल्याएको व्यापक मुद्दा टुङ्ग्याउन १,८०० करोड डलर तिर्ने सहमति जनाएको थियो।
अलाबामासँगको टिकटकको सहमतिले मेटाले स्वीकारेका सुरक्षा प्रावधानहरू नै पछ्याएको छ, जसमा किशोरका लागि दैनिक दुई घण्टाको समय-सीमा, मध्यरातदेखि बिहान ६ बजेसम्म पहुँचमा प्रतिबन्ध, र विद्यालय समयमा सूचना (नोटिफिकेसन) रोक्ने व्यवस्था समावेश छन्।
यसले उमेर प्रमाणीकरण प्रणाली थप बलियो बनाउनेछ, किशोरका लागि ब्युटी फिल्टरमा प्रतिबन्ध लगाउनेछ र युवा प्रयोगकर्तालाई व्यक्तिगत नबनाइएको (नन-पर्सनलाइज्ड) सामग्री फिड उपलब्ध गराउनेछ।
साथै, यसमा मेटाले पनि स्वीकारेको एउटा सशर्त प्रावधान समेटिएको छ— अन्य प्लेटफर्महरूले पनि यस्तै प्रतिबद्धता जनाए राति बन्द हुने अवधि रात १० बजेदेखि बिहान ७ बजेसम्म विस्तार गर्ने।
टिकटकका प्रवक्ताले एएफपीलाई भने, "टिकटकको प्राथमिकता सधैं मानिसहरूले सिर्जनशील हुन, आफूले मन पराउने कुरा पत्ता लगाउन र आफ्नो समुदायसँग जोडिन सक्ने सुरक्षित र सकारात्मक ठाउँ बनाउनु रहेको छ।" उनले थपे, "यसले किशोरकिशोरीको सुरक्षाका लागि हाम्रा बलिया सुरक्षा उपकरणहरू निरन्तर सुधार गर्ने हाम्रो प्रतिबद्धता र मुख्य उद्देश्यलाई थप बल पुर्याउँछ।"
क्यालिफोर्निया र न्युयोर्कसहित एक दर्जनभन्दा बढी अन्य राज्यहरूमा टिकटकविरुद्ध मुद्दा अझै विचाराधीन छ। कम्पनीले यसअघि पनि सुनुवाइतर्फ गइरहेका मुद्दाहरू, जस्तै लस एन्जलिसकी एक युवतीले ल्याएको मुद्दा र केन्टकीको एक विद्यालय जिल्लाले ल्याएको मुद्दा, सम्झौताबाटै टुङ्ग्याएको थियो।
यसको विपरीत, मेटाले भने अदालतमै जोखिम मोल्दा नराम्रो परिणाम भोगेको छ। गत मार्चमा न्यु मेक्सिकोको एउटा जुरीले फेसबुक र इन्स्टाग्रामकी मालिक कम्पनी मेटालाई बालबालिकाका लागि आफ्ना प्लेटफर्महरूको सुरक्षाबारे सर्वसाधारणलाई झुक्याएको ठहर गर्दै ३७ करोड ५० लाख डलर तिर्न आदेश दिएको थियो।
त्यही महिना लस एन्जलिसको एउटा जुरीले सामाजिक सञ्जालको लतमा फसेको बताउने २० वर्षीया एक युवतीको मुद्दामा मेटा र गुगलको युट्युबलाई लापरवाही ठहर गर्दै उनलाई ६० लाख डलर क्षतिपूर्ति दिने फैसला गरेको थियो।
मुद्दा अदालतमै पुगेको भए टिकटकले सुरक्षासम्बन्धी आन्तरिक व्यवस्थापन कसरी गर्छ भन्नेबारे अभूतपूर्व सार्वजनिक जाँचबुझको सामना गर्नुपर्ने थियो, जसमा कम्पनीका कागजात र कार्यकारीहरूको बयान समेत खुला अदालतमा सार्वजनिक हुन सक्थ्यो।
अलाबामाले सुरुमा अप्रिल २०२५ मा टिकटक र यसको चिनियाँ मूल कम्पनी बाइटड्यान्सविरुद्ध मुद्दा दायर गर्दै यो एप युवा प्रयोगकर्तालाई "एउटा परिष्कृत जुवा मेसिनजस्तै" लत लाग्ने गरी डिजाइन गरिएको आरोप लगाएको थियो।
पछि राज्यले आफ्नो मुद्दालाई अलाबामाको भ्रामक व्यापार अभ्यास ऐनअन्तर्गतका दाबीहरूमा सीमित गर्दै "रेस्ट्रिक्टेड मोड" र "किड्स मोड" जस्ता सुविधाहरूको प्रभावकारिताबारे टिकटकले गलत प्रस्तुति गरेको भन्नेमा केन्द्रित बनाएको थियो।
मुद्दाको कागजातअनुसार, ती मोडमा प्रयोगकर्ताले परिपक्व विषयवस्तु नदेख्ने टिकटकको आश्वासनका बाबजुद, ती खाताहरूमा आत्महत्या, आत्मघाती व्यवहार, खाद्य विकार, मद्यपान र यौनसम्बन्धी भिडियोहरू छिट्टै देखाइएको थियो।