काठमाडौं: अदालतमा पेस गर्नुपर्ने कानुनी बहसपत्र तयार गर्दा ChatGPT माथि निर्भर भएर तथ्य जाँच नगरेपछि अमेरिकाको न्यू मेक्सिकोका एक वकिल कारबाहीमा परेका छन्। उनले अदालतमा पेस गरेको बहसपत्रमा अदालतमा कहिल्यै उपस्थित नै नभएका व्यक्तिलाई साक्षीका रूपमा उद्धृत गर्नुका साथै वास्तविक मुद्दासम्बन्धी कानुनी नजिरको समेत गलत व्याख्या गरेका थिए।
न्यू मेक्सिको सर्वोच्च अदालतले वकिल स्टिफन आरोन्सलाई प्रत्यक्ष अदालत अवहेलनामा दोषी ठहर गर्दै ५ हजार अमेरिकी डलर जरिवाना गरेको छ। उनलाई थप अनुशासनात्मक कारबाहीका लागि राज्यको बार अनुशासन बोर्डमा पठाइएको छ।
अदालतले आरोन्सले एआईबाट तयार भएको बहसपत्रमा रहेका तथ्य र कानुनी आधार आफैंले जाँच नगरी हस्ताक्षर गरेर अदालतमा बुझाएको स्वीकार गरेको जनाएको छ। उनले आफ्नो ग्राहकलाई पनि बहसपत्रमा भएका गम्भीर गल्ती र ChatGPT प्रयोगबारे जानकारी गराएका थिएनन्।
आरोन्स चार दशकभन्दा बढी समयदेखि न्यू मेक्सिकोमा आपराधिक मुद्दाका वकिलका रूपमा काम गर्दै आएका थिए। हत्या अभियोगमा आजीवन कारावासको सजाय पाएका ओस्कार रेने सान्डोभालको पुनरावेदनका लागि उनको परिवारले उनलाई वकिल नियुक्त गरेको थियो।
सान्डोभाललाई सन् २०२५ को फेब्रुअरीमा आफ्नी साथी तथा आफ्ना सन्तानकी आमाको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाइएको थियो।
आरोन्सले सन् २०२५ को अगस्टमा अदालतमा बुझाएको बहसपत्रमा अदालतमा कहिल्यै बयान नै नदिएका व्यक्तिका नाममा झुटा बयान समावेश भएको अदालतको आदेशमा उल्लेख छ।
त्यस्ता कथित नक्कली साक्षीमा अफिसर मिशेल अमारिल्लो, अफिसर सान्चेज, मनाल अल–जिबुरी र टेरेसा मार्केज रहेका थिए।
त्यति मात्र होइन, बहसपत्रमा ड्यानी स्ट्यान्टनले धम्की पाएको, लिन्डा स्ट्यान्टनले आफ्ना श्रीमान्लाई आएको धम्कीबारे बयान दिएको तथा मारिया चाभेज र टेरेसा मार्केजले गोली चलाउने व्यक्तिको कपडा र स्वरूपबारे बयान दिएको जस्ता गलत विवरणसमेत समावेश गरिएको थियो।
आरोन्सले उद्धृत गरेका मुद्दाका कानुनी नजिर वास्तविक भए पनि तिनको व्याख्या गलत गरिएको अदालतले जनाएको छ।
गत अगस्ट २१ मा भएको सुनुवाइका क्रममा आरोन्सले आफूले हत्यासम्बन्धी मुद्दाको सुनुवाइको कम्प्युटरबाट तयार गरिएको ट्रान्सक्रिप्ट तथा अन्य कागजात ChatGPT मा राखेको बताएका थिए।
उनका अनुसार त्यसबाटै गलत उद्धरण र विवरण उत्पन्न भएका थिए।
आरोन्सले अदालतमा आफूले OpenAI को o3 मोडलमा आधारित ChatGPT प्रयोग गरेको बताएका थिए। एआईको प्रयोग कानुनी तथा चिकित्सा क्षेत्रमा व्यापक भइरहेकाले त्यसले तयार गरेको सामग्री सही हुने आफूले अनुमान गरेको उनको भनाइ थियो।
उनले सुनुवाइका क्रममा आफ्नो गल्ती स्वीकार गर्दै आफूले “बुलेटप्रुफ” रूपमा तयार भएको सारांश पाएको ठानेको बताएका थिए।
तर सर्वोच्च अदालतका न्यायाधीशहरूले एआई प्रयोग गर्नु आफैंमा समस्या नभएको, त्यसबाट प्राप्त सामग्रीको सत्यता जाँच नगर्नु मुख्य समस्या भएको स्पष्ट पारे।
न्यायाधीश सी. श्यानन बेकनले आरोन्सको बचाउप्रति कडा असन्तुष्टि जनाइन्। एआईले गलत वा काल्पनिक तथ्य सिर्जना गर्न सक्छ भन्ने कुरा आफूलाई थाहा नभएको आरोन्सको दाबीप्रति उनले प्रश्न उठाइन्।
बेकनले कानुनी व्यवसायमा एआईका गलत तथ्यबारे लामो समयदेखि चर्चा हुँदै आएको भन्दै वकिलले एआई, कानुनका विद्यार्थी वा अर्को वकिल—जसको सहयोग लिए पनि अदालतमा बुझाउने कागजातको शुद्धताका लागि अन्ततः स्वयं जिम्मेवार हुनुपर्ने बताइन्।
उनको भनाइमा, वास्तविक मुद्दाको गलत व्याख्या गर्नु र काल्पनिक मुद्दा उद्धृत गर्नुबीच अदालतप्रतिको सत्यनिष्ठाको दृष्टिले कुनै महत्वपूर्ण फरक छैन।
आरोन्सले आफ्नो ग्राहक सान्डोभाललाई बहसपत्रमा भएको समस्या वा त्यसमा ChatGPT प्रयोग गरिएको जानकारी नदिएको पनि स्वीकार गरे।
उनले सान्डोभालका दाजु र काकाबाट वकालतको जिम्मेवारी पाएको र उनीहरूलाई पहिलो बहसपत्रमा समस्या रहेको जानकारी मात्र दिएको बताए।
यसप्रति पनि न्यायाधीश बेकनले आपत्ति जनाइन्। ग्राहकले आफ्नो मुद्दामा वकिलले के गल्ती गरेको छ भन्ने पूर्ण जानकारी पाएपछि मात्र आफूलाई प्रतिनिधित्व गर्ने व्यक्ति सही हो कि होइन भन्ने निर्णय गर्न सक्ने उनको भनाइ थियो।
न्यू मेक्सिको सर्वोच्च अदालतले आरोन्सलाई अनुशासनात्मक अनुसन्धान र प्रक्रिया पूरा नभएसम्म सर्वोच्च अदालतमा उपस्थित हुन रोक लगाएको छ।
उनलाई ५ हजार डलर जरिवाना गरी उक्त रकम State Bar of New Mexico Client Protection Fund मा जम्मा गर्न आदेश दिइएको छ। अनुशासनात्मक बोर्डको प्रक्रियाबाट थप कारबाही हुन सक्ने अदालतले जनाएको छ।
अदालतले सान्डोभालका लागि नयाँ वकिल नियुक्त गर्न सार्वजनिक प्रतिरक्षा कार्यालयलाई आदेश दिएको छ। आरोन्सले पेस गरेका यसअघिका सबै बहसपत्र अभिलेखबाट हटाइएको छ र मुद्दा २०२६–२७ को अदालतको कार्यकालमा अघि बढ्ने भएको छ।
मुख्य न्यायाधीश जुली वर्गासले सुनुवाइका क्रममा एआईसम्बन्धी नीतिगत बहसभन्दा तत्कालीन समस्या—गलत बहसपत्रका कारण जेलमा रहेका ग्राहकको मुद्दामा परेको असर—महत्त्वपूर्ण रहेको बताएकी थिइन्।
न्यायाधीश माइकल भिजिलले पनि एआईबाट कानुनी लेखनमा सहयोग लिन सकिने तर अदालतमा पेस गर्नुअघि त्यसको प्रत्येक तथ्य र कानुनी आधार जाँच गर्नु वकिलको अनिवार्य जिम्मेवारी भएको स्पष्ट पारे।
आरोन्सले पछि आफू गल्तीप्रति पछुताएको बताएका छन्। उनले एआई शक्तिशाली भए पनि कहिलेकाहीँ अस्थिर हुने प्रविधि भएकाले आफ्नो घटनाबाट अन्य पेशाकर्मीले पाठ सिक्नुपर्ने बताएका छन्।