काठमाडौं: लामो समयदेखि प्रतीक्षामा रहेको टेस्लाको दोस्रो पुस्ताको रोडस्टर अन्ततः सार्वजनिक हुने भएको छ। टेस्लाले आगामी अक्टोबर १ मा नयाँ रोडस्टर अनावरण गर्ने मिति तय गरेको छ, जुन २०१७ मा कन्सेप्ट सार्वजनिक गरेयता कम्पनीले दिएको पहिलो ठोस मिति हो।
टेस्लाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको टिजरमा कारका पछाडिका बत्ती जस्ता देखिने संरचना र छतमा चारवटा गोलाकार आकृति देखिएका छन्। ती आकृति कम्पनीले यसअघि चर्चा गरेको SpaceX कोल्ड–ग्यास थ्रस्टर हुन सक्ने अनुमान गरिएको छ। यद्यपि टेस्लाले टिजरबाहेक कारको प्राविधिक विवरण सार्वजनिक गरेको छैन।
रोडस्टर पहिलोपटक सन् २०१७ मा कन्सेप्टका रूपमा देखाइएको थियो। त्यतिबेला सन् २०२० मै उत्पादन सुरु गर्ने टेस्लाको योजना थियो। तर उत्पादन लगातार पछि धकेलिँदै गयो। सन् २०२१ सम्म आइपुग्दा लक्ष्य २०२२ मा सारिएको थियो।
गत महिना The Information ले रोडस्टरका दुई संस्करण आउने दाबी गरेको थियो—सीमित संख्यामा निर्माण हुने उड्ने रोडस्टर र सडकमा कानुनी रूपमा चलाउन मिल्ने सामान्य संस्करण। टेस्लाले भने यी दुई संस्करणबारे औपचारिक पुष्टि गरेको छैन।
उड्ने संस्करणमा थ्रस्टर प्रयोग हुने र त्यसको प्रदर्शन मानिसबाट टाढा रिमोटमार्फत गरिने बताइएको छ। थ्रस्टरबाट उत्पन्न हुने आवाज र शक्तिका कारण यस्तो प्रदर्शन गर्नुपर्ने बताइएको छ। तर यो हालसम्म उत्पादनभन्दा बढी प्रदर्शन वा स्टन्टकै अवधारणाजस्तो देखिन्छ।
रोडस्टरको बुकिङका लागि ग्राहकले ठूलो रकम अग्रिम तिर्नुपर्ने व्यवस्था छ। युरोपमा रिजर्भेसनका लागि ४३ हजार युरो लाग्छ। त्यसमध्ये ४ हजार युरो कार्डबाट र बाँकी ३९ हजार युरो रिजर्भेसन गरेको १० दिनभित्र बैंकमार्फत पठाउनुपर्ने व्यवस्था छ।
अमेरिकी संस्करणका लागि सुरुवातमा ५ हजार डलर र त्यसपछि ५० हजार डलर तिर्नुपर्ने व्यवस्था छ। ‘Founders Series’ का लागि भने सुरुमै २ लाख ५० हजार डलर अग्रिम लिइएको थियो।
तर, यति ठूलो रकम अग्रिम लिइए पनि अहिलेसम्म विश्वका कुनै पनि ग्राहकले रोडस्टरको डेलिभरी पाएका छैनन्।
केही ग्राहकले बुकिङ रद्द गरेर रकम फिर्ता लिनसमेत कठिनाइ भएको बताएका छन्। चर्चित प्रविधि समीक्षक मार्केस ब्राउनलीले आठ वर्षपछि आफ्नो रिजर्भेसन रद्द गर्दा सुरुमा ५ हजार डलर फिर्ता पाउन नसकेको बताएका थिए। पछि टेस्लाले रकम फिर्ता गरेको थियो। ओपनएआईका प्रमुख कार्यकारी साम अल्टम्यानले पनि आफ्नो रोडस्टर डिपोजिट फिर्ता मागेका थिए।
ब्राउनलीका अनुसार बुकिङ रद्द गर्ने क्रममा उनलाई फोन नम्बर र भ्वाइस मेल प्रणालीतर्फ पठाइएको थियो।
नयाँ रोडस्टर सार्वजनिक हुन लागेको समय टेस्लाका लागि युरोपेली बजारमा चुनौतीपूर्ण पनि छ।
सन् २०२६ को जनवरीमा युरोपमा टेस्लाको दर्ता १७ प्रतिशतले घटेको थियो। त्यही अवधिमा युरोपको समग्र ब्याट्री–इलेक्ट्रिक गाडीको बजार भने १४ प्रतिशतले बढेको थियो।
टेस्लाले युरोपमा वा विश्वभर कति रोडस्टर रिजर्भेसन भएका छन् भन्ने संख्या सार्वजनिक गरेको छैन।
युरोपेली ग्राहकका लागि भने उपभोक्ता कानुनका कारण केही सुरक्षा हुन सक्छ। व्यापारीले सम्झौताअनुसार वस्तु उपलब्ध गराउन नसकेमा भुक्तानी रद्द गरी रकम फिर्ता माग्ने कानुनी बाटो युरोपेली उपभोक्ता कानुनले दिएको छ। यद्यपि रोडस्टरको रिजर्भेसनलाई पूर्ण बिक्री सम्झौता मान्ने वा नमान्ने विषयमा हालसम्म स्पष्ट कानुनी परीक्षण भएको छैन।
टेस्लाका इन्जिनियरिङ प्रमुख लार्स मोराभीले रोडस्टरलाई कम्पनीको ‘अन्तिम र उत्कृष्ट ड्राइभरको कार’ तथा टेस्लाको एउटा युगको अन्त्यको प्रतीकका रूपमा व्याख्या गरेका छन्।
अब अक्टोबर १ को अनावरणले वर्षौँदेखि थन्किएको रोडस्टर परियोजना वास्तवमै उत्पादनतर्फ अघि बढ्छ कि फेरि अर्को समयसीमा थपिन्छ भन्ने प्रश्नको जवाफ दिनेछ।