बुधबार, २९ साउन २०८३

ओपन एआईको आईयिओ अनिश्चित, अल्टम्यानले दिए २०२७ को संकेत

767 Shares

काठमाडौं: ओपन एआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानले कम्पनी सन् २०२६ मै सार्वजनिक कम्पनी बन्ने सम्भावना नरहेको स्पष्ट पारेका छन्। एआई सुरक्षासम्बन्धी बढ्दो चिन्ता र कम्पनीका सामु रहेका अन्य चुनौतीका बीच अहिले नै आईपीओमा जानु उचित नहुने उनको भनाइ छ।

ओपन एआईले यसअघि नै प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) का लागि गोप्य रूपमा आवेदन दिइसकेको भए पनि यसै वर्ष सेयर बजारमा प्रवेश गर्ने योजना नरहेको अल्टम्यानले बताएका हुन्।

फरच्युनकी प्रधान सम्पादक एलिसन शोन्टेलसँगको हालैको अन्तर्वार्तामा अल्टम्यानलाई आईपीओको योजनाका कारण कम्पनीमाथि तीव्र गतिमा अघि बढ्ने दबाब छ कि छैन भनेर सोधिएको थियो ।

जवाफमा उनले भने, “हामी आईपीओका लागि हतार गरिरहेका छैनौँ। अहिले सुरक्षासम्बन्धी भइरहेका सबै घटनालाई हेर्दा सार्वजनिक कम्पनी बन्नु उचित समय होइन।”

उनका अनुसार ओपन एआईले व्यवसाय तयार भएपछि र एआई प्रविधिसँग सम्बन्धित सामाजिक वातावरणसमेत उपयुक्त देखिएपछि मात्रै आईपीओमा जानेछ।

२०२६ मै आईपीओ नहुने हो भन्ने प्रश्नमा अल्टम्यानले स्पष्ट रूपमा भने, “म २०२६ होइन भन्छु। हामीसँग अझै धेरै काम गर्न बाँकी छ।”

२०२७ तर्फ संकेत

ओपन एआईले आईपीओका लागि गोप्य प्रक्रिया अघि बढाए पनि कम्पनीको सार्वजनिक निष्कासनको समयबारे लामो समयदेखि अन्योल छ।

द न्यसयोर्क टाइम्सले गत जुनमा प्रकाशित गरेको रिपोर्टअनुसार ओपन एआईले सन् २०२६ को तेस्रो वा चौथो त्रैमासिकमा सार्वजनिक कम्पनी बन्ने लक्ष्यसहित बैंक तथा कानुनी सल्लाहकार नियुक्त गरेको थियो। तर प्रविधि कम्पनीका सेयरमा देखिएको अस्थिरता र ओपन एआईकै वित्तीय चुनौतीका कारण कम्पनी २०२७ तर्फ जाने सम्भावनामा बढी झुकेको थियो।

अल्टम्यानको पछिल्लो भनाइले पनि तत्काल आईपीओमा जानेभन्दा कम्पनीको व्यवसाय, एआई सुरक्षा र समग्र वातावरणलाई प्राथमिकता दिने संकेत गरेको छ।

पछिल्लो समय ओपन एआई आफ्नै एआई प्रणालीको सुरक्षा, नियन्त्रण र साइबर सुरक्षासम्बन्धी घटनाका कारण पनि दबाबमा छ। यस्ता घटनाक्रमका बीच कम्पनीले आईपीओभन्दा पहिले प्रविधिको सुरक्षा र व्यवसायलाई थप स्थिर बनाउने रणनीति अपनाउन खोजेको देखिन्छ।