बुधबार, २९ साउन २०८३

हिमालय एयरलाइन्सको काठमाडौं–साङ्घाई सिधा उडान पुनः सुरु,सातामा दुई उडान गर्ने

65 Shares

काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं रुटमा नियमित सिधा उडान सेवा पुनः सुरु गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) र चीनको साङ्घाईस्थित पुडोङ अन्तर्राष्ट्रिय विमानस्थल (PVG) बीचको सिधा उडान सेवा सेप्टेम्बर २८, २०२६ देखि पुनः सञ्चालनमा आएको हो।

हिमालय एयरलाइन्सले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई थप विस्तार गर्ने उद्देश्यसहित यो रुटमा नियमित उडान पुनः सुरु गरेको जनाएको छ। कम्पनीका अनुसार सुरुआती चरणमा काठमाडौं–साङ्घाई–काठमाडौं रुटमा सातामा दुईवटा उडान सञ्चालन गरिनेछ।

काठमाडौं–साङ्घाईतर्फका उडान प्रत्येक सोमबार र शुक्रबार सञ्चालन हुनेछन् भने साङ्घाईबाट काठमाडौं फर्किने उडान मंगलबार र शनिबार सञ्चालन हुनेछन्। यात्रुको माग तथा उडानको ‘लोड फ्याक्टर’का आधारमा आगामी दिनमा उडान संख्या थप गर्न सकिने एयरलाइन्सले जनाएको छ।

यस्तो छ उडान तालिका

उपलब्ध गराइएको तालिकाअनुसार काठमाडौं–साङ्घाई उडान सेप्टेम्बर २८ देखि अक्टोबर २३ सम्म सोमबार र शुक्रबार सञ्चालन हुनेछ। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार साँझ ६ः२५ बजे उडान हुने र भोलिपल्ट बिहान २ बजे साङ्घाईको पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

त्यस्तै, साङ्घाई–काठमाडौं उडान सेप्टेम्बर २९ देखि अक्टोबर २४ सम्म मंगलबार र शनिबार सञ्चालन हुनेछ। साङ्घाईबाट स्थानीय समयअनुसार बिहान ३ बजे उडान हुने र सोही दिन नेपाली समयअनुसार बिहान ७ः१० बजे काठमाडौं आइपुग्ने तालिका छ।

नेपाल–चीन हवाई सम्पर्कमा थप सहजता

हिमालय एयरलाइन्सका अनुसार काठमाडौं–साङ्घाई सिधा उडानले नेपाललाई चीनको सबैभन्दा ठूलो सहर तथा प्रमुख विश्वव्यापी वित्तीय केन्द्र साङ्घाईसँग प्रत्यक्ष हवाई सम्पर्क प्रदान गर्नेछ।

यसले नेपालबाट चीन जाने यात्रुका लागि यात्रालाई थप सहज बनाउने अपेक्षा गरिएको छ। साथै, नेपाल र चीनबीच व्यापार, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तारमा समेत यो हवाई रुटले योगदान पुर्‍याउने एयरलाइन्सको भनाइ छ।

IMG_8035 (1).jpg

विशेषगरी चीनबाट नेपाल आउने पर्यटकको संख्या बढाउन तथा नेपालको पर्यटन र आतिथ्य क्षेत्रलाई सहयोग पुर्‍याउन यो रुट महत्वपूर्ण हुने कम्पनीले जनाएको छ। चीनबाट नेपाल आउने पर्यटक बढ्दा पर्यटनसँग जोडिएका विभिन्न व्यवसायमा सकारात्मक प्रभाव पर्ने र नेपालको आर्थिक गतिविधिमा समेत योगदान पुग्ने अपेक्षा एयरलाइन्सले गरेको छ।

‘नेपाल र चीनबीचको सम्बन्ध थप बलियो बनाउनेछ’

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले काठमाडौं–साङ्घाई रुटमा नियमित उडान पुनः सञ्चालन हुनु नेपाल र चीनबीचको व्यापार, पर्यटन तथा जनस्तरको सम्बन्धलाई थप बलियो बनाउने दिशामा महत्वपूर्ण कदम भएको बताएका छन्।

उनका अनुसार एयरलाइन्सले चीनमा नयाँ गन्तव्य खोज्दै नियमित उडान विस्तार गर्दै आएको छ। काठमाडौं–साङ्घाई रुटको पुनः सञ्चालनले दुई देशका नागरिकबीचको सम्बन्ध थप मजबुत बनाउने तथा पर्यटन र व्यापार प्रवर्द्धनमा सहयोग गर्ने कम्पनीको उद्देश्यलाई अघि बढाउने उनले बताएका छन्।

टिकट कहाँबाट बुक गर्न सकिन्छ?

साङ्घाई उडानमा यात्रा गर्न चाहने यात्रुले हिमालय एयरलाइन्सका टिकटिङ काउन्टर, आधिकारिक ट्राभल पार्टनर तथा कम्पनीको आधिकारिक वेबसाइट र मोबाइल एपमार्फत टिकट बुक गर्न सक्नेछन्।

हिमालय एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान विस्तार

नेपाल–चीन संयुक्त साझेदारीमा स्थापना भएको हिमालय एयरलाइन्स सन् २०१४ मा स्थापना भएको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हो। कम्पनीले नेपाल र अन्य देशबीच जनस्तरको सम्पर्क विस्तार गर्नुका साथै नेपालको व्यापार तथा पर्यटन उद्योगलाई सहयोग पुर्‍याउने उद्देश्यसहित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दै आएको जनाएको छ।

हाल हिमालय एयरलाइन्ससँग चारवटा विमान रहेको कम्पनीले जनाएको छ। तीमध्ये तीनवटा एयरबस ए३२०–२१४ र एउटा एयरबस ए३१९–११५ रहेका छन्। कम्पनीले मध्यपूर्व तथा दक्षिण एसियाका विभिन्न प्रमुख गन्तव्यसँगै चीनमा समेत यात्रुवाहक उडान सञ्चालन गर्दै आएको छ।

कम्पनीले उडान सञ्चालन तथा प्राविधिक व्यवस्थापनमा विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड तथा प्रमाणिकरण हासिल गरेको पनि जनाएको छ। सन् २०२३ को डिसेम्बरमा हिमालय एयरलाइन्सले IOSA अपरेटरका रूपमा प्रमाणित हुनुका साथै IATA सदस्यका रूपमा दर्ता भएको थियो। कम्पनीका अनुसार यो नेपालमा IOSA प्रमाणित पहिलो तथा एकमात्र एयरलाइन्स हो।

कम्पनीले हवाई सुरक्षालाई प्राथमिकतामा राख्दै आफ्ना विमानमा स्वचालित बाह्य डिफिब्रिलेटर (AEDs) जडान गरेको पनि जनाएको छ। साथै, समयमै उडान सञ्चालन तथा ग्राहक सेवामा उच्चस्तर कायम गर्ने लक्ष्यसहित आफूलाई दक्षिण एसियाको अग्रणी एयरलाइन्सका रूपमा स्थापित गर्ने उद्देश्य राखेको उल्लेख गरेको छ।