एआई कम्पनी एन्थ्रोपिकले प्रस्तावित सार्वजनिक सेयर निष्कासन (आइपीओ) अघि तयार पारेको विवरणले कम्पनीको आम्दानी केही ठूला ग्राहक र प्रविधि कम्पनीमा अत्यधिक निर्भर रहेको देखाएको छ।
रोयटर्सले प्राप्त गरेको एन्थ्रोपिकको गोप्य आइपीओ दस्तावेजअनुसार सन् २०२५ मा कम्पनीको कुल बिक्रीको ४७ प्रतिशत अमेजन र अल्फाबेटको गुगलमार्फत भएको थियो। यी दुवै कम्पनी एन्थ्रोपिकका प्रमुख लगानीकर्ता, कम्प्युटिङ क्षमताका महत्वपूर्ण आपूर्तिकर्ता तथा एआई क्षेत्रमा प्रत्यक्ष प्रतिस्पर्धीसमेत हुन्।
अमेजन र गुगलका क्लाउड बजारमार्फत ग्राहकसम्म एन्थ्रोपिकको क्लाउड एआई प्रणाली ‘क्लाउड’ पुगिरहेको छ। ती कम्पनीहरूले ग्राहकबाट रकमसमेत उठाउने गरेका छन्।
एन्थ्रोपिकले यस विषयमा टिप्पणीका लागि पठाइएको अनुरोधको जवाफ नदिएको रोयटर्सले जनाएको छ। अमेजनले पनि टिप्पणी गर्न अस्वीकार गरेको छ भने अल्फाबेटले प्रतिक्रिया दिएको छैन।
केही वर्षअघि मात्रै स्थापना भएको एन्थ्रोपिक ठूला भाषिक एआई प्रणाली विकास गर्ने प्रमुख कम्पनीका रूपमा तीव्र गतिमा विस्तार भइरहेको छ।
रोयटर्सका अनुसार सन् २०२५ मा कम्पनीको आम्दानी १२ गुणाले बढेर करिब ४ अर्ब ६० करोड डलर पुगेको थियो। तर सोही अवधिमा सञ्चालन घाटा दोब्बरभन्दा बढी बढेर ८ अर्ब डलरभन्दा माथि पुगेको थियो।
कम्पनीले करिब २ ट्रिलियन डलर मूल्यांकनको लक्ष्य राखेको छ। आगामी वर्षहरूमा आफ्नो विस्तार तीव्र बनाउन सयौँ अर्ब डलर खर्च गर्ने योजना पनि एन्थ्रोपिकले अघि सारेको छ।
सन् २०२५ को कुल आम्दानीमध्ये करिब ३ अर्ब ८० करोड डलर ग्राहकले ‘क्लाउड’ एआई प्रणाली प्रयोग गरेको मात्राका आधारमा तिरेको रकमबाट आएको थियो। सदस्यता शुल्कबाट भने ७८ करोड ९० लाख डलर आम्दानी भएको थियो।
एन्थ्रोपिकले निकट भविष्यमा आफ्नो आम्दानीको ठूलो हिस्सा प्रयोगको मात्राका आधारमा प्राप्त हुने रकमबाटै आउने अपेक्षा गरेको जनाएको छ।
एन्थ्रोपिकको आइपीओ दस्तावेजअनुसार सन् २०२५ मा क्लाउड बजारमार्फत भएको बिक्री करिब २ अर्ब १६ करोड डलर थियो। यो कम्पनीको कुल वार्षिक आम्दानीको ४७ प्रतिशत हो।
रोयटर्सको विश्लेषणअनुसार एन्थ्रोपिकले यी वितरण प्लेटफर्मलाई करिब ३५ करोड १० लाख डलर शुल्क तिरेको थियो। यसको अर्थ त्यस्ता बिक्रीबाट उठेको प्रत्येक १ डलरमध्ये करिब १६ सेन्ट क्लाउड प्रदायकतर्फ गएको देखिन्छ।
एन्थ्रोपिकले यस्ता शुल्कलाई आफ्नो वित्तीय विवरणमा बिक्री, बजार प्रवर्द्धन तथा साझेदारीसम्बन्धी सञ्चालन खर्चअन्तर्गत राखेको छ।
अमेजन र गुगलले एन्थ्रोपिकमा दशौँ अर्ब डलर लगानी गरेका छन्। अर्कोतर्फ एन्थ्रोपिकले पनि ती कम्पनीबाट ठूलो मात्रामा कम्प्युटिङ क्षमता खरिद गर्ने प्रतिबद्धता जनाएको छ।
सन् २०२५ को अन्त्यसम्म एन्थ्रोपिकसँग रद्द गर्न नसकिने होस्टिङ तथा कम्प्युटिङसम्बन्धी प्रतिबद्धता ५४ अर्ब ६० करोड डलर थियो। सन् २०२६ को सुरुवातसम्म कम्पनीको दीर्घकालीन प्रतिबद्धता ४ खर्ब १७ अर्ब डलरभन्दा बढी पुगेको थियो। यी प्रतिबद्धताले ३.५ गिगावाटको समर्पित कम्प्युटिङ क्षमतालाई समेट्छन्।
एन्थ्रोपिकले अमेजन, गुगल र माइक्रोसफ्टका क्लाउड प्लेटफर्ममार्फत आफ्नो एआई प्रणाली बिक्री गर्दा ती कम्पनीको ठूलो बिक्री सञ्जाल प्रयोग गर्न पाउने भएकाले बजार विस्तार तीव्र हुने बताएको छ।
कम्पनीका अनुसार यसबाट उनीहरूका सेवाहरू पहिले नै प्रयोग गरिरहेका ग्राहकसम्म सहज रूपमा पुग्न सकिन्छ। एन्थ्रोपिकले यस्तो पहुँच एउटै संस्थाले आफ्नै प्रयासबाट हासिल गर्न कठिन हुने दाबी गरेको छ।
तर यही सम्बन्धले जोखिम पनि निम्त्याउन सक्ने कम्पनीले आफ्नो आइपीओ दस्तावेजमा स्वीकार गरेको छ।
सीमित संख्याका साझेदार र आपूर्तिकर्तामाथिको निर्भरताले स्वार्थको द्वन्द्व सिर्जना गर्न सक्ने र एन्थ्रोपिकको कम्प्युटिङ क्षमतामा पहुँच प्रभावित हुन सक्ने चेतावनी कम्पनीले दिएको छ।
एन्थ्रोपिकले गत नोभेम्बरमा माइक्रोसफ्टसँग पनि क्लाउड कम्प्युटिङसम्बन्धी सम्झौता गरेको थियो।
क्लाउड प्रदायक कम्पनीहरूसँग एन्थ्रोपिकको मूल्य निर्धारण तथा व्यापारिक सर्तसम्बन्धी जानकारीमा समेत पहुँच रहने दस्तावेजमा उल्लेख छ।
यसले भविष्यमा एन्थ्रोपिकका लागि उपलब्ध हुने कम्प्युटिङ क्षमता निर्धारणमा उनीहरूको निर्णयलाई प्रभावित गर्न सक्ने र एन्थ्रोपिकका उत्पादनलाई बजारमा कति आक्रामक रूपमा बिक्री गर्ने भन्ने विषयमा पनि असर पार्न सक्ने कम्पनीले जनाएको छ।
अझ, यी क्लाउड कम्पनीहरू स्वयं एन्थ्रोपिकका ग्राहकसमेत हुन्।
एन्थ्रोपिकको अमेजन र गुगलमाथिको निर्भरता पछिल्ला वर्षमा तीव्र रूपमा बढेको देखिन्छ। सन् २०२३ मा यी दुई कम्पनीमार्फत भएको बिक्री कुल आम्दानीको ११ प्रतिशत थियो। सन् २०२४ मा यो हिस्सा बढेर ३२ प्रतिशत पुग्यो भने सन् २०२५ मा करिब आधा पुगेको हो।
एन्थ्रोपिकको नगद प्रवाहमा पनि अमेजन र गुगलजस्ता तेस्रो पक्षको भूमिका बढ्दै गएको छ।
सन् २०२५ को अन्त्यमा ग्राहकबाट उठाउन बाँकी रहेको ९० करोड ९ लाख डलरमध्ये ६० प्रतिशत रकम यिनै तेस्रो पक्षले उठाउने जिम्मेवारी लिएका थिए। सन् २०२४ मा यस्तो हिस्सा ४२ प्रतिशत थियो।
कम्पनीले रकम उठाउने प्रक्रियामा विवाद वा ढिलाइ भएमा आफूले प्रत्यक्ष रूपमा ग्राहकसँग सम्झौता गरेको भए पनि नगद प्रवाह प्रभावित हुन सक्ने चेतावनी दिएको छ।
एन्थ्रोपिकको जोखिम क्लाउड प्रदायकमा मात्रै सीमित छैन। कम्पनीका ग्राहकहरू पनि सीमित संख्यामा केन्द्रित छन्।
दस्तावेजअनुसार सन् २०२५ मा नाम सार्वजनिक नगरिएका दुईवटा ग्राहकले मात्रै एन्थ्रोपिकको कुल आम्दानीको १२–१२ प्रतिशत हिस्सा ओगटेका थिए।
कम्पनीले आफ्ना धेरै ठूला ग्राहक दीर्घकालीन सम्झौतामा बाँधिएका नभएकाले उनीहरूले एन्थ्रोपिकका सेवामा गर्ने खर्च घटाउन वा पूर्ण रूपमा रोक्न सक्ने जोखिम रहेको जनाएको छ।
क्लाउड कम्पनीमार्फत हुने बिक्रीले एन्थ्रोपिकको वित्तीय विवरणलाई प्रतिस्पर्धी ओपनएआईसँग तुलना गर्नसमेत जटिल बनाएको छ।
एन्थ्रोपिकले ग्राहकले क्लाउड प्रदायकको बजारमार्फत ‘क्लाउड’मा पहुँच खरिद गर्दा सम्झौताको सम्पूर्ण रकमलाई आफ्नो आम्दानीका रूपमा देखाउँछ। कम्पनीले मूल्य निर्धारण गर्ने र सेवा उपलब्ध गराउने भएकाले यस्तो रकमलाई कुल आम्दानीमा समेटेको उसको भनाइ छ। क्लाउड प्लेटफर्मले पाउने हिस्सा भने बजार प्रवर्द्धन खर्चका रूपमा देखाइएको छ।
रोयटर्सका अनुसार ओपनएआईले लगानीकर्ता र कर्मचारीहरूसँग एन्थ्रोपिकको यस्तो लेखा पद्धतिले कम्पनीको देखाइएको आम्दानी अर्बौं डलरले बढी देखाउने दाबी गरेको थियो।
एन्थ्रोपिकले भने आफूले स्थापित लेखा अभ्यासअनुसार काम गरिरहेको बताउँदै कारोबारमा मुख्य पक्ष भएकाले कुल आम्दानीलाई त्यसैअनुसार देखाएको जनाएको छ।
यसरी एन्थ्रोपिक तीव्र गतिमा आम्दानी बढाइरहेको भए पनि कम्पनीको आइपीओ दस्तावेजले ठूलो पूँजी आवश्यकता, सीमित ठूला ग्राहक, केही प्रमुख क्लाउड कम्पनीमाथिको निर्भरता र ती कम्पनीसँगै रहेको प्रतिस्पर्धात्मक सम्बन्धलाई आगामी विस्तारका महत्वपूर्ण जोखिमका रूपमा औँल्याएको छ।